pokhara news

पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह

पोखरा,३० असार ।

श्रावण महिनlको प्रत्येक सोमबार पोखरामा बिगत २४ बर्षदेखि हुदै आएको बोलबमको तयारी तीव्र बनाइएको छ । यस वर्षको श्रावण महिनामा चार वटा सोमबार परेको र यी दिनमा हुने बोलबमको तयारी अन्तिम चरणमा पुगेको आयोजक केदारेश्वर महादेव मणि सेवाश्रम समिति बैदामले जनाएको छ ।श्रावणको ५, १२, १९ र २६ गते सोमबार परेको छ । यी चार दिनमा पोखरा १ बगरको शुक्लागण्डकी गाइघाटमा पुगेर १०८ धारामा स्नान गरी सेती नदीको जल लिएर झाँकी, बाजागाजा, भजनकीर्तन गर्दै करिब आठ किमिको दूरी पैदलयात्रा गरेरै केदारेश्वरमा जलार्पण गर्ने गरिन्छ ।
यी दिनमा भक्तजनलाई ठाउँठाउँमा सर्वतपानी तथा मन्दिरमा प्रसादको व्यवस्था गरिएको छ । ‘बोलबमको नाराले, शान्ति पाउन् साराले’ भन्ने मूल मन्त्रका साथ हुने कार्यक्रम साउनका चार वटै सोमबार चल्ने बोलबम संयोजक शंकर खरालले जानकारी दिए ।

 
श्रावणमा भगवान् शिवको आराधना गर्दै ज्योतिर्लिङ्गमा गंगाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । बोलबमको महत्व र केदारेश्वरको छुट्टै महिमा छ ।
संयोजक खरालले भने, ‘१०८ धारा स्नान, ८ किलोमिटर पैदलयात्रा र १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउनु भक्तजनको अहोभाग्य हो, जुन केदारेश्वरमा मात्र उपलब्ध छ ।’
बोलबम संयोजक खरालका अनुसार शिवमन्दिरमा जलार्पण गर्ने कार्यक्रम विभिन्न ठाउँमा रहे पनि आठ संयोगका कारण केदारेश्वरमा भने बोलबमको खास महत्व रहेको छ ।
भगवान शिवले सृष्टिपालना तथा सम्भारमा अष्ठमूर्ति स्वरुपधारणा गरेको वर्ण शिवपुराणमा उल्लेख रहेको र साधकले आफ्नो साधना प्राप्ति गर्न पनि अष्ठसिद्धि गर्नुपर्ने बताइन्छ ।
बोलबम जलयात्रा, बाजागाजा र झाँकी तथा शिवलिङ्गमा जलार्पण, पूजाआजा तथा भजनकीर्तनलगायतमा उल्लेख्यरुपमा सहभागिता जनाउन र मनोकांक्षा पूरा गर्न उनले आग्रह गरे ।
केदारेश्वरमा संचालित केदारेश्वर वैदिक गुरुकुल आश्रमका पीठाधीश डा.चित्घन चैतन्य महाराज (लेखनाथ आचार्य) ले ८० जना बालकको शिक्षादीक्षा, आवासलगायतको व्ययभार पनि भएकोले कार्यक्रमको सफलता मूल मन्त्र हुने बताए ।
उनले केदारेश्वरमा हुने बोलबमको महत्व अत्यन्तै रहेको बताए । मन्दिरमा सिधै आएर शिव लिङ्गमा पानी, दूध चढाउनु भन्दा गाइघाटबाटै जल लिएर आएर केदारश्वरमा जलार्पण गर्नुको महत्व विशेष रहेको उनले स्पष्ट पारे ।
बोलबम हुने दिन मध्यान्हमा षोडस् उपचारसहित विशेष पूजा आराधनादेखि भजनकीर्तन गरिने छ भने सन्ध्याकालीन समयमा विशेष पूजासहित महाआरतीसँगै शिव साधना हुने उनले बताए ।
पहिलापहिला नेपालबाट बोलबमको लागि भारत जाने गरिएकामा अहिले भारतबाट नेपाल आउन थालेको उनले बताए । उनका अनुसार २४ वर्षअघि केदारेश्वरमा शुरु गरेको बोलबम अहिले गण्डकीकै संस्कृति बनेको छ ।

पीठाधीश डा. आचार्यले बोलबम शिव साधकका लागि शक्ति जागृत गर्ने पर्व भएको बताए । उनले बोलबममा साकार र निराकारका रूपमा शिवको आराधना गरिने स्पष्ट पारे । उनले भोलेबम, भोलेबम हुँदै परिस्कृत रूपमा बोलबम भएको जानकारी दिए ।
बोलबमले पोखरासहित गण्डकी प्रदेशकै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सेती नदीको गाइघाटमा जल लिन जाने भक्तजनलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिनेछन् । साथै केदारेश्वमा ठूलो संख्यामा भक्तजन आउने हुँदा विभिन्न संघसंस्थाले पानी, मोही र प्रसादको समेत व्यवस्था गरेका छन् ।
समितिका वरिष्ठ उपाध्यक्ष मीना भट्टराई, सचिव ओमनाथ अधिकारीलगायतले बोलबमको महत्वमाथि प्रकाश पारेका थिए ।
बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुदै आएको छ ।

 

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर